अमेरिकाको राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास भएको छ।चुनावी र्यालीका क्रममा पेन्सिलभेनियाको बटलरमा ट्रम्पमाथि गोली प्रहार भएको थियो । मञ्चमा बोल्दै गर्दा गोली चलेको आवाज सुनियो । ट्रम्पले दाहिने कानमा हात राखेर निहुरे । अमेरिकी सेक्रेट सेवाका एजेन्टहरू तुरुन्तै ट्रम्पलाई कभर गर्न आइपुगे ।
एजेन्टहरूले ट्रम्पलाई उभिन मद्दत गर्दा ट्रम्पको अनुहार र कानमा रगत देखिएको थियो । यस क्रममा ट्रम्पले आफ्नो मुट्ठी समातेर हावामा हल्लाए । यसपछि गोप्य एजेन्टहरूले ट्रम्पलाई स्टेजबाट लगेर कारमा राखेर त्यहाँबाट अस्पताल लगेक थिए । सेक्रेट सेवाले आक्रमणकारी मारिएको जनाएको छ । यस हमलामा एक ट्रम्प समर्थकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडन आफ्नो चुनावी यात्रा बिचमा छाडेर आज वासिङ्टन डिसी फर्कँदैछन् । उनले ह्वाइट हाउसमा होमल्याण्ड सेक्युरिटी र कानून प्रवर्तन एजेन्सीको आपतकालीन बैठक बोलाएका छन् ।
त्यस्तै बाइडनले ट्रम्पसँग कुरा गरेको ह्वाइट हाउसले जनाएको छ । ट्रम्पले आफ्नो कानको उपल्लो भागमा लागेको बताएका छन् । उनी अहिले सुरक्षित रहेका छन् र उनले आफ्नो सुरक्षा गरिरहेका अमेरिकी गुप्तचर बिभागका कर्मचारीलाई धन्यवाद दिएका छन् ।अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्नेको परिचय खुलेको छ। एफबिआईले गोली हान्ने युवक २० बर्षिय थोमस म्याथ्यु क्रक्स रहेको बताएको छ।
यस घटनामा सुरक्षाकर्मीले गोली हान्ने युवकलाई घटनास्थलमै गोली हानेका थिए र उनको मृत्यु भएको छ। युवकको गोली लागेर एक ट्रम्प समर्थकको पनि मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।