अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी स्वामित्व स्थापित गर्न सेना समेत परिचालन गर्ने संकेत गरेपछि डेनमार्कले ग्रिनल्यान्डको सुरक्षा बलियो पार्न छलफल गर्न तयार रहेको सन्देश ट्रम्पलाई पठाएको छ।
पृथ्वीको उत्तरी ध्रुव नजिकै, सधैं हिउँले ढाकिने ग्रिनल्यान्ड टापु अहिले डेनमार्कको नियन्त्रणमा छ।
यस्तोमा डेनमार्कले ग्रिनल्यान्डको सुरक्षा बलियो पार्ने वा त्यहाँ अमेरिकी सेनाको उपस्थिति बढाउनेबारे छलफल गर्न तयार रहेको भनेर उनको टोलीलाई गोप्य सन्देश पठाएको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
फेरि पनि ग्रिनल्यान्ड बिक्रीका लागि नराखिएको भनेर जोड दिंदै डेनमार्कको सरकारले आगामी अमेरिकी सरकारसँग सार्वजनिक रूपमा झगडा गर्न नचाहेको भनेको छ। त्यस्तै ट्रम्पले गत हप्ता दिएको अभिव्यक्तिको खास अर्थ के हो भनेर पनि उनको टोलीलाई सोधेको भनेर एक्सियसले दुई अधिकारीहरूको हवाला दिंदै जनाएको छ।
फ्लोरिडास्थित आफ्नो मर(आ(लागो रिसोर्टमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले ग्रिनल्यान्ड, क्यानडा र पनामा नहरमा अमेरिकी स्वामित्व राख्ने अभिव्यक्ति दिएका थिए।
ग्रिनल्यान्डमा अहिले नै केही अमेरिकी सैनिक र मिसाइलहरू छन्। किनभने, अमेरिकाले तत्कालीन सोभियत संघविरूद्ध बनाएको सैन्य गठबन्धन नेटोमा डेनमार्क पनि सदस्य थियो। यति हुँदाहुँदै यो विशाल टापू आफ्नो पूर्ण नियन्त्रणमा नरहेर चीन वा रूसको अधीनमा जान्छ कि भन्ने चिन्ता अमेरिकालाई छ।
अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्प पहिलो पटक राष्ट्रपति हुँदा धनाढ्य साथी रोनाल्ड एस लाउडरले उनलाई ग्रिनल्यान्डको महत्त्वबारे अवगत गराएका थिए। त्यसपछि नै ट्रम्पमा ग्रिनल्यान्ड किन्ने भूत सवार भएको हो। उनले सन् २०१९ मै ग्रिनल्यान्ड अमेरिकाले किन्नुपर्छ भनेका थिए। त्यति बेला डेनमार्क र ग्रिनल्यान्ड दुवैले ग्रिनल्यान्ड बिक्रीका लागि नभएको स्पष्ट पारेका थिए।
अहिले दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि ट्रम्पले फेरि त्यही कुरा उठाएका छन्। उनले भर्खरै केनेथ हावेरीलाई डेनमार्कका लागि आफ्नो सरकारको राजदूत तोक्दा त्यही कुरा दोहोर्याए।
अमेरिकाले सबभन्दा पहिला सन् १८०३ मा लुइजियाना राज्य १ करोड ५० लाख डलरमा फ्रान्ससँग किनेको थियो। त्यसको झन्डै ६५ वर्षपछि एन्ड्रयु जोन्सन राष्ट्रपति हुँदा सन् १८६७ मा अमेरिकाले ग्रिनल्यान्डभन्दा अलि सानो क्षेत्रफलको अलास्का ७२ लाख डलरमा रूसबाट किनेको थियो। त्यति बेला जोन्सन भीषण गृहयुद्धपछिको पुनर्निर्माणमा व्यस्त रहेकाले अलास्का किन्दा विदेशमन्त्री विलियम सेवार्डले मोलमोलाइ गरेका थिए।
ट्रम्पले जुन उद्देश्यका साथ ग्रिनल्यान्ड किन्ने कुरा उठाएका भए पनि उनको अभिव्यक्तिले तुरून्तै असर भने गरेको छ। डेनमार्कका रक्षामन्त्री ट्रोएल्स पल्सनले भर्खरै ग्रिनल्यान्डको सुरक्षा बलियो पार्न घटीमा डेढ अर्ब डलर खर्च गर्ने घोषणा गरेका छन्। डेनमार्कले ग्रिनल्यान्डको सुरक्षा बजेटमा व्यापक वृद्धि गरे चीन वा रूसबाट रहेको खतरा पनि अलि कम हुन्छ।
त्यसैबारे ट्रम्पलाई आश्वस्त पार्न डेनमार्कले ग्रिनल्यान्डको सुरक्षा बलियो पार्ने वा त्यहाँ अमेरिकी सेनाको उपस्थिति बढाउनेबारे छलफल गर्न तयार रहेको भनेर उनको टोलीलाई गोप्य सन्देश पठाएको हो।
९विभिन्न अनलाइन सञ्चार माध्यमहरूको सहयोगबाट