काठमाडौं । आजभोली समाजमा धेरै चकित हुने गरी घटनाहरु घटिरहेका छन् । हिन्दी सिनेमा जगतबाट एउटा चकित पार्ने खबर बाहिर आएको छ । बलिउडका चर्चित कला निर्देशक नितिन देसाईले बुधबार बिहान आत्महत्या गरेका छन् । उनको मृत्युको खबर सार्वजनिक हुनासाथ सबै चकित भएका छन् । चलचित्र जगतमा सन्नाटा छाएको छ । भर्खरै मात्र नेपाली कलाकार सारुक ताम्राकारले आत्माहत्या गरेको घटना सेलाउन नपाउँदै बलिउडमा फेरि अर्को दुःखद घटना घटेको छ । प्राप्त जानकारी अनुसार नितिन देसाईले बिहान ४ः३० बजे एनडी स्टुडियोमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको मृत्युको कारण आर्थिक अभाव रहेको बताइएको छ ।नितिन देसाई कर्जतस्थित उनको एनडी स्टुडियोमा मृत फेला परेका छन् । उनको मृत्युको कारणबारे प्रहरीले थप विवरण भने दिएको छैन । तर उनले आत्महत्या गरेको बताइएको छ । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
नितिन देसाईले उत्कृष्ट कला निर्देशकको रूपमा ४ पटक राष्ट्रिय पुरस्कार पनि पाएका थिए । दुई दशक लामो आफ्नो करियरमा, नितिन देसाईले बलिउडका धेरै प्रसिद्ध फिल्म निर्माताहरूसँग काम गरे, जसमा सञ्जय लीला भन्साली, विधु विनोद चोपडा, राजकुमार हिरानी, आशुतोष गोवारीकर जस्ता ठूला नामहरू थिए। चलचित्र जगतमा उनको योगदान अतुलनीय छ ।