• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

युगाण्डाको विद्यालयमा भएको आक्रमणको संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा निन्दा

  • People's Aawaj
  • २०८०-असार-०३
  • अन्तर्राष्ट्रिय
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले पश्चिमी युगान्डाको एक माध्यमिक विद्यालयमा एलाइड डेमोक्रेटिक फोर्सेज ९एडीएफ० समूहले गरेको आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ ।
युगान्डाका अधिकारीहरूका अनुसार एडीएफ विद्रोहीहरूले शुक्रबार राति प्रजातान्त्रिक गणतन्त्र कङ्गो ९डीआरसी०सँग सीमा जोडिएको मपोन्ड्वेस्थित ल्हुबिरिरा माध्यमिक विद्यालयमा आक्रमण गर्दा कम्तीमा ३७ विद्यार्थीको मृत्यु भएको थियो भने कम्तीमा आठ जना विद्यार्थीको अवस्था गम्भीर रहेको छ ।

आक्रमणकारीले छ जना विद्यार्थीलाई कब्जामा लिई आफुसँगै लगेका छन् ।

उपप्रवक्ता फरहान हकले एक विज्ञप्ति जारी गर्दै यस भयानक आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याउनुपर्ने बताउनुभएको छ ।

महासचिवले मृतकका परिवार, युगान्डाको सरकार र जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै अपहरणमा परेकालाई तत्काल रिहा गर्न आह्वान गरेका छन् ।

गुटेर्रेसले कङ्गो र युगान्डाबीचको सीमापार असुरक्षाको सामना गर्न र यस क्षेत्रमा दिगो शान्ति बहालीका लागि क्षेत्रीय साझेदारीमा वृद्धि सहित सामूहिक प्रयासको महत्वलाई दोहो¥याएका छन् ।

एडीएफ युगान्डाको विद्रोही समूह हो जुन पूर्वी कङ्गोको जङ्गलमा लुकेर आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ ।

यो मध्य अफ्रिकामा इस्लामिक स्टेटको एउटा शाखा हो । विद्रोही समूहलाई पूर्वी कङ्गोका गाउँहरूमा आतङ्क मच्चाएको आरोप लगाइएको छ ।
युगान्डा र कङ्गोका सेनाले सन् २०२१ को नोभेम्बरमा विद्रोही समूहविरुद्ध संयुक्त अभियान चलाएका थिए ।