• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

समस्या आएपछि नयाँ आईओएस अपडेट ल्याउँदै एप्पल

  • पिपल्स आवाज
  • २०८०-आश्विन-१६
  • आर्थिक
समस्या आएपछि नयाँ आईओएस अपडेट ल्याउँदै एप्पल

 

काठमाडौं । आईफोन १५ प्रो र प्रो म्याक्समा आएको ब्याट्री तात्तिने समस्या समाधान गर्न एप्पलले आईओएस १७ मा नयाँ अपडेट ल्याउने भएको छ । एप्पलका अनुसार थर्ड पार्टी एपमा हालै आएका नयाँ अपडेटका कारण सिस्टममा ओभरहिटिङको समस्या आएको छ । विशेषगरी इन्स्टाग्राम, उबर, रेसिङ गेम अश्फाल्ट नाइनः लिजेन्ड जस्ता एपमा सिस्टमले धान्नै नसक्ने अपडेट आउँदा तात्तिने समस्या आएको एप्पलले जनाएको छ । यिनै समस्या समाधान गर्न यी एपका डेभलपरसँग एप्पलले काम गरिरहेको म्याक र्‍युमर्सले उल्लेख गरेको छ । गत बुधवार इन्स्टाग्रामले नयाँ अपडेट सार्वजनिक गर्दै उक्त समस्या समाधान गरेको जानकारी दिएको छ । यसो त एप्पलले आफैंले पनि आईफोन १५ प्रो सुरुवाती दिनमा अपेक्षा गरिएको भन्दा बढी तात्तिने बताएको छ ।
विशेषगरी फोन सेट गर्दा वा डेटा रिस्टोर गर्दा ब्याकग्राउन्ड एक्टिभिटी बढ्ने भएकाले आईफोन १५ प्रो र प्रो म्याक्स तात्तिएको एप्पलको भनाइ छ । त्यसैले अस्थायी रूपमा नयाँ आईफोनमा यस्तो समस्या देखिनु सामान्य भएको विश्लेषकको तर्क छ ।
कम्पनीले आईओएस १७ मा फेला परेको बग ‘कमजोरी’ का कारण यस्तो समस्या आइरहेको बताउँदै नयाँ अपडेट आईओएस १७।१ मार्फत् समस्या समाधान हुने जनाएको छ । हाल बेटा भर्सनमा चलिरहेको यो अपडेट अक्टोबर अन्तिमसम्म उपलब्ध हुने अपेक्षा गरिएको छ । त्यसभन्दा अगाडि आउने सफ्टवेयर अपडेट आईओएस १७।०।३ मा कम्पनीले यो समस्या समाधान गर्ने सम्भावना पनि उत्तिकै छ ।

त्यस्तै कम्पनीले फोन तात्तिने समस्याको कारण अरू नै भएको र टाइटानियम फ्रेमले आईफोन तात्ने विषयमा कुनै भूमिका नखेल्ने स्पष्ट पारेको छ । यसो त सबै आईफोन १५ प्रो र प्रो म्याक्स प्रयोगकर्ताले फोन तात्तिने समस्या आएको गुनासो गरेका छैनन् ।