• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

मलमास के हो र के गर्ने नगर्ने ?

  • बिनिता डंगोल
  • २०८०-असार-१७
  • समाचार
मलमास के हो र के गर्ने नगर्ने ?


साउन २ । काठमाडौं, यसपाली साउन २ गते मनमास सुरु भएको छ । सुरुमा त मनमास भनेको के हो बुझ्नु जरुरी छ । हामी सबैलाई थाहा छ कि ३६५ दिनको या भनौँ १२ महिनाको १ वर्ष हुन्छ । सूर्यको गति अनुसार गणना गरिने मासलाई सौर्य मास भनिन्छ भने चन्द्रको गति अनुसार गणना गरिने मासलाई चन्द्र मास भनिन्छ। सौर्य मासमा सामान्यतया २९ देखि ३२ दिन सम्मको महिना हुन्छ भने चन्द्र मासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्र मास हुन्छ। सामान्य रूपमा चन्द्र मास अनि गतेहरु सौर्य मास भनेर बुझ्न सकिन्छ ।

यसरी सौर्य मासको गणनामा ३६५ दिनको एक वर्ष हुन्छ भने चन्द्र मासको गणनामा ३५४ दिनको एक वर्ष हुन्छ। यसरी प्रत्येक साल चन्द्र मास सौर्य मास भन्दा ११ दिनले पछि हुँदै आउँछ अनि ३ वर्षमा ३३ दिन ले चन्द्र मास र सौर्य मासको फरक पार्दछ जसलाई अधिक मास या मलमासले मिलाप गरिन्छ । यो त सामान्य बुझाई भयो, अब ज्योतिष शास्त्रको परिभाषा तर्फ लागौँ। ज्योतिष शास्त्र अनुसार जुन चन्द्र मास भित्र सूर्य सङ्क्रान्ति पर्दैन त्यसलाई अधिक मास भनिन्छ । त्यस्तै कुनै चन्द्र मास भित्र दुई वटा सूर्य सङ्क्रान्ति परेमा त्यसलाई क्षय मास भनिन्छ। अधिक मास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षय मास घटिमा १९ वर्ष र बढीमा ४१ वर्षमा एक पटक आउने गर्दछ ।

यसरी सूर्य अनि चन्द्रका चाल अनि गतिका आधारमा वर्ष मिलान गर्न अधिक मास र क्षय मासको चलन ठाउँ अनुसार फरक फरक हुन सक्दछ तथापि अधिक मास भने अधिक ३३ दिनलाई हरेक ३ वर्षमा समायोजन गर्ने चलन हो ।
सौर्य मास जस्तो चन्द्र मास को मापन ठोस हुँदैन, तिथिमा आधारित हुने भएकाले यो चन्द्र मास गतिमा निश्चित हुँदैन । यही नियम अनुसार अधिक मास या महिना वृद्धि हुने गर्दछ, अधिक मास खासै यही महिना हुन्छ भन्ने हुँदैन । “सर्वेषु मासेष्वधिमासकः स्यात” भन्ने प्रमाणबाट अधिक मास जुनसुकै महिनामा पनि पर्न सक्छ ।

लीप इयर भने निश्चित समयमा पर्दछ भने अधिक मासको भने समय यसै महिना भन्न सकिँदैन । अधिक मासलाई पुरुषोत्तम मास पनि भनिन्छ, यस मासको आधिपत्य भगवान् सूर्यले ग्रहण नगरेको तसर्थ भगवान् पुरुषोत्तम स्वयमले आधिपत्य स्वीकार गरेको किंवदन्ती छ । यस मासमा भगवान् नारायणको पूजा अर्चना गरिन्छ । अन्य पूजाहरू सामान्यतया चले पनि विवाह, व्रतबन्ध लगायतका शुभकार्यहरु भने पुरुषोत्तम मासमा गरिने गरिन्न । मलमासमा पतिपत्नी विवाहको प्रथम वर्ष हो भने साथ नबस्ने अनि पारिवारिक सम्बन्ध पिरोल्ने भनी मुर्हुतमार्तण्डीका र मुर्हुतचिन्तामणी लगायतका पुस्तकमा पाइएता पनि परम्परागत वैदिक परम्पराका प्राचीन ग्रन्थहरूमा भने यस्ता कुराहरू पाँइदैन् । अधिक मासमा गर्ने धार्मिक कृत्य व्रत, दान, पुण्य आदिका लागि भगवान् श्रीकृष्णले भन्नुभएको छ–यसको फलदाता,भोक्ता र अधिष्ठाता जम्मै म नै हुँ । यस महिनामा एकभक्त, नक्त वा उपवासका साथै भगवान् भास्करको पूजन तथा कास्यपात्रमा अन्न वस्त्र भरेर दान गर्नु फलदायी हुन्छ ।

मत्स्यनारायण मेला
काठमाडौवाट झन्डै ८ किमी दक्षिण पश्चिम भेगमा चन्द्रागिरी नगपालिकामा पर्ने मत्स्यनारायणको प्रस्तर मन्दिरमा मलमासमा एक महिना लामो मेला सुरु भएको छ । मलमासको अवधिभर यस मेलामा परपर वाट हजारौँ लाखौँ भक्तजनहरू दर्शनार्थ आउने गर्दछन् । मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम माहात्म्य वाचन गर्ने परम्परा छ। भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ। सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति छ।

विष्णुले दस अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलय कालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ। चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् । मलमासबाहेक नववर्षलगायत जनपूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्दछ।

मत्स्य अवतार
प्राचीन कालमा सत्यव्रत नाम गरेका राजा ले नदिमा मत्स्य अवतारको सर्वप्रथम दर्शन पाएका हुन् । सानो माछाले आफ्नो रक्षार्थ बिन्ती गरेपछि राजाले आफ्नो कमण्डलुमा राखेका अनि त्यसमा उक्त माछा नअटाएको एवं रितले तलाउ अनि समुन्द्र सम्म राख्दा माछाको आकार बढ्दै गएको बताइन्छ ।

राजाले भगवान् विष्णुको अवतार चाल पाएर मत्स्य अवतार को पूजा गरेको अनि पृथ्वी प्रलयको समयमा मत्स्य अवतारले जलमग्न पृथ्वीमा सानो नाउँमा बिउ बिजन सहित सप्तर्षि अनि राजा सत्यव्रतको रक्षा गरेको कुरा उल्लेख छ । हयग्रिव नाम गरेको राक्षसले वेदहरूलाई चोरेर समुद्रमा लुकाई राखेको थियो भगवान् मत्स्यले हयग्रिवलाई मारेर वेदहरूको पनि उदार गर्नु भएको थियो।

मत्स्य नारायणको अपरम्पार गुणगान केवल ग्रन्थ अनि इतिहासमा मात्र नभई वास्तविक जीवनमा पनि उत्तिकै छ । जलमा बस्ने माछा लगायतका सम्पूर्ण प्राणी अनि जलाशय स्वयमको पनि रक्षा अनि सरसफाइ यस मेलाले अनि मत्स्य नारायणको कथाले उद्घोष गर्दछ ।