१६ दिनको पितृ पक्षको समापन भएको छ । आजको दिनलाई सर्व पितृ औँसी पनि भनिन्छ । यसरी पूर्णिमाबाट सुरु भएको पितृ पक्ष ठ्याक्कै औँसीमा आएर समापन हुन्छ । १६ दिनको पितृ पक्षमा आफ्नो पितृको मृत्यु तिथिमा पारी हिन्दु धर्मावलम्बीहरूले पितृ कर्म अर्थात् श्राद्ध गरिसकेका छन् ।
हिन्दु संस्कारमा श्राद्ध एकदमै महत्त्वपूर्ण कर्म हो । जसलाई सामान्यतया परिवारको ज्येष्ठ पुत्रले गर्छन् । तथापि सर्व पितृ औँसीका दिन पुत्रले आफ्ना पिता पक्ष र माता पक्ष दुवैतर्फका पितृहरूलाई तर्पण दिने गर्छन् ।
श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ । आफन्त अनि पण्डितको आगमनसँगै कर्ताले पितृ कर्म गर्दा कपाल खौरेर अनि नयाँ जनै फेर्नुपर्छ । बिहानैदेखि नैवेद्य अनि अनेक प्रकारका शुद्ध खानेकुरा घरमा पकाइन्छ । अनि र श्राद्ध चलिरहँदा पण्डितकै निर्देशन अनुरूप घिउ, पुष्प, अबिर–केसरी लगायतका पितृ कर्मका आधारभूत श्राद्धका सामाग्री ठाउँमा लगिरहनु पर्छ ।
पुत्रलाई मोक्षको बाटो भनी हिन्द शास्त्रमा उल्लेख भएको आधारमा विभिन्न पक्षबाट यस कुरालाई नारी विरोधी र लैङ्गिक असमानतासित पनि जोडेर हेरिने गरिएको पनि पाइएको छ । तथापि श्राद्ध, तर्पण अनि अन्य शुभ कार्यमा छोरी–बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्त्व छ ।सनातन धर्मको हरेक शुभ कार्य अनि संस्कारमा कर्ताका रूपमा पुत्रको उपस्थितिलाई प्राथमिकता दिएको भए पनि नारीहरूलाई पनि उत्तिकै महत्त्व दिएको छ । भान्जा–भान्जी अनि चेलीबेटीको उपस्थितिविना श्राद्ध कर्म पूर्ण हुन सक्दैन ।
पुत्र अनि पुत्री पितृका लागि समान छन् । आजभोलि पितृ कर्ममा अनि काजक्रियामा छोरीहरूको समान सहभागिता र कर्ताकै रूपमा भूमिका सराहनीय छ । धर्म अनि संस्कारले छोराछोरी दुवैलाई उत्तिकै ठाउँ दिएको छ ।
पिण्ड दिएपछि गौमुत्र अर्थात् गहुत खाएर अनि टिकोटालो गरेर समापन गरिएको श्राद्ध कर्मपश्चात् अब दसैँको औपचारिक उत्साह र उमङ्गको सञ्चार हुनेछ । पितृहरूको सम्झना अनि सम्मानका लागि यी १६ दिनहरू अत्यन्त महत्त्वपूर्ण हुन्छन् । चाडबाड अगावै पितृहरूप्रतिको यो समर्पण र सद्भावले हाम्रो संस्कारलाई वास्तवमै धनी बनाएको छ ।
अब सर्व पितृ औँसीको भोलिपल्टबाट नवरात्रि सुरु हुँदै छ । सँगै शक्ति पीठहरूमा प्रातकालदेखि नै श्रद्धालु भक्तजनहरूको घुइँचो र मेला लाग्ने गर्छ । दसैँको तैयारी र किनमेल, लगाउने नयाँ लुगा अनि खसी–बोकाको तैयारी अनि खोजी सुरु भइसकेको होला ।
हिन्दु परम्परा अनुसार छोरा तथा नातिले आफ्ना पितृहरूको श्राद्ध गर्नुपर्ने चलन छ । पितृ पक्षको अन्तिम दिन भएकाले वर्षभरि कुनै कारणले श्राद्ध गर्न असम्भव भएको खण्डमा अमावस्या औँसीका दिन श्राद्ध गरिन्छ ।
पितृहरूको उद्धारका लागि घर–घर र तीर्थस्थलहरूमा श्राद्ध गरी पितृहरूको सम्झना गर्ने धार्मिक प्रचलन छ । सर्व पितृ मोक्ष औँसीमा पनि अन्य श्राद्ध कर्ममा झैँ पितृहरूका नाउँमा श्राद्ध तर्पण गरिन्छ । श्राद्ध गर्नाले पितृहरूले आफ्ना सन्तानलाई ऋणमुक्त गरिदिने तथा चित्त शुद्ध गराउने मान्यता छ । दसैँ–तिहार लगायत नेपालीहरूका मुख्य चाडपर्वका अगाडि आउने पितृ पक्षमा पितृहरूको सम्झना र सम्मान गरिन्छ ।