- विनिता डंगोल
-
२०८०-जेष्ठ-३०
- विचार
-
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमण पूरा गरि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको टोली शनिबार स्वदेश फर्किएको छ । प्रधानमन्त्रीको स्तरबाट नेपाल र भारतबीच विभिन्न विषयमा सहमतिपत्रमा हस्ताक्षर भएको विभिन्न एजेन्सीहरुले समाचारमा जनाएका छन् । भ्रमणका क्रममा भारत सरकारको अनुदान सहयोगमा नेपालको दोधारा चाँदनीमा एकीकृत जाँच चौकीको निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ । सो हस्ताक्षरपछि दुईदेशबीच भएको सहमति अनुसार सो अवसरमा प्रधानमन्त्री द्वयले संयुक्त रुपमा चार सय केभी गोरखपुर–बुटवल प्रसारण लाइनको भूमिपूजन कार्य समेत गर्नुभएको थियो । यस्तै चार सय ८० मेगावाटको फुकोट–कर्णाली परियोजनाको निर्माणका लागि एनएचपिसी र भियुसिएल लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर तथा छ सय ६९ मेगावाटको तल्लो अरुणको निर्माणका लागि सतलज जलविद्युत् निगम र नेपाल लगानी बोर्डबीच सम्पन्न परियोजना विकास सम्झौताको दुवै पक्षले स्वागत गरेका थिए । यस्तै पञ्चेश्वर आयोजनाको डिपिआर अन्तिम रूप दिने सहमति पनि भएको छ । दुई देशबीच भएको सहमति अनुसार महाकालीमा दुई पुलको निर्माण गर्ने निर्णय भएको छ । भारत सरकारले अनुदानमा नेपालका सिर्सिया र झुलाघाटमा महाकाली नदीमा भारतको चम्पावत र पिथौरागढ जोड्ने दुईवटा पुलको निर्माण गर्ने निर्णय गरेको छ । यी पुलले भारतको उत्तराखण्ड र नेपालको सुदूरपश्चिम प्रदेशबीच सम्पर्क विस्तार गर्न मद्दत गर्नेछ । समझादारी अनुसार सिलिगुडीदेखि झापासम्मको पेट्रोलियम पाइपलाइन निर्माण, अमलेखगञ्जदेखि चितवनसम्म तेल पाइपलाइन विस्तार र चितवन र झापामा दुईवटा ग्रिनफिल्ड टर्मिनल निर्माणका लागि पनि हस्ताक्षर भएको छ । कृषि तथा पशुपक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरूप नेपाल सरकारको अनुरोधमा भारत सरकारले १५ वटा मुर्रा राँगा नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । उक्त राँगा ब्याडको लागि प्रयाग हुने र सो राँगाबाट जन्मिएका भैसीले झण्डै २० लिटरसम्म दुध दिने क्षमताको हुने समाचारमा बताइएको छ । यस्तै भारत सरकारले अनुदान सहयोगमा नेपाललाई दक्षिण एसिया स्याटलाइटको सेवा प्रदान गर्न एउटा ग्राउन्ड स्टेसनको निर्माणका साथै तीन सयवटा टर्मिनल उपलब्ध गराउने भएको छ । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण उपलब्धीपूर्ण भएको बताउनु भएको छ । प्रधानमन्त्री दाहालले आफूले गेरु वस्त्र लागाएको विषयमा भने ठाउँ र भेष अनुसार अघि बढेको बताउनुभयो ।