तम्घासको चिदीचौरमा फोर्टिन स्टार कप २०८० सुरु भएको छ । गुल्मीको फोर्टिन स्टार युवा क्लबले १३औँ वार्षिकोत्सवको अवसरमा सञ्चालन गरेको माध्यमिक विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता आगामी १० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले उद्घाटन गरेका छन् । जिल्लामा लामो समयदेखि फोर्टिन स्टार युवा क्लबले छात्र र पुल्चोक स्पोर्टस् क्लबले छात्रा फुटबल प्रतियोगिता गर्दै आएका छन् ।
सहरका विद्यालयमा मात्रै केन्द्रित फुटबल खेलको मोह गाउँसम्म विस्तार गर्ने उद्देश्यले क्लबहरूले लामो समयदेखि फुलबल प्रतियोगिताको आयोजना गर्दै आएका छन् । जसमा १९ टिममध्ये १० टिम सदरमुकामबाहिरबाट प्रतियोगितामा सहभागी छन् ।
यो उपस्थितिले गाउँसम्म फुटबल खेलको मोह बढ्दै गएको बुझिन्छ । प्रतियोगितामा सदरमुकामका महेन्द्र मावि, सिद्धबाबा मावि, रेसुंगा मावि, उपल्लो तम्घास मावि, अर्जुन इग्लिस बोर्डिङ स्कुल, रिडर्स पब्लिक हाइस्कुल, आदर्श विद्या आश्रम र ब्रिलियन्ट युनाइटेड एकेडेमी र गण्डकी इंग्लिस बोर्डिङ स्कुल छन्
केही समयअघिसम्म तम्घासका विद्यालयबीच मात्रै प्रतिस्पर्धा हुने प्रतियोगिताहरूमा गाउँका विद्यालयको सहभागिताले हेर्ने दर्शकहरू पनि उत्साहित भएका छन् ।
‘चौथो फोर्टिन स्टार कप– २०८०’ को विजेतालाई ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका महासचिव नारायण आचार्यले जानकारी दिए । प्रतियोगितामा खेलाडी, प्रशिक्षक र कोचलाई प्राथमिक उपचार र एक लाखबराबरको म्यादी बिमासमेत क्लबले गरेको छ ।