काठमाडौं । ३० असार , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको भावना र मर्मअनुसार पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको बताउनुभएको छ । बागमती प्रदेशमा भएको तमू (गुरुङ) संघको भेलामा उद्घाटन गर्दै रहेको बताउनु भयो।
उहाँले भन्नुभयो, “मुलुकमा राजनीतिक परिवर्तनलगायतका आन्दोलनमा सबै समुदाय र जनजातिको उत्तिकै सहभागिता र योगदान छ, राज्यका संरचना र दलभित्र सबै ठाउँमा समावेशिता आवश्यक छ ।”
पार्टी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुशासन, आर्थिक समृद्धि र रुपान्तरणको पक्षमा दल र सरकारले काम गरिरहेको बताउनुभयो । त्यसैगरी महामन्त्री विश्वप्रकाश शर्माले मातृ पार्टी कांग्रेसलाई सुदृढ तुल्याउँदै राज्यलाई समृद्धिको यात्रामा सक्रियाताका साथ लाग्न सबै जातजाति र समुदायको कर्तव्य हुने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “गौतम बुद्ध, सगरमाथा र गोर्खालीको पहिचान बोकेको नेपालमा संसारमै नभएका भाषा, संस्कृति र सभ्यता छ, अब हामी भ्रष्टाचारविरुद्ध र समृद्धिको यात्रामा दृढ भएर जानुपर्छ, त्यसका लागि भ्रष्टाचारलाई निर्मूल गर्ने अठोट गर्नुपर्छ ।”
सहमहामन्त्री भीष्मराज आङदम्बेले कांग्रेसलाई अहिलेको उचाइमा पुर्याउन गुरुङ समुदायले खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताउनुभयो । पूर्वमहामन्त्री कुलबहादुर गुरुङले प्रत्येक समुदायले आफ्नो समुदाय, संस्कृति र सभ्यताको संरक्षण र संवर्द्धन गर्दै देश विकासको अभियानमा जुट्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल सबै जातजाति, धर्म, समुदाय, संस्कृति, सभ्यता र वेषभूषाका हिसाबले साझा पहिचान बोकेको मुलुक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल जातजाति, संस्कृति र सभ्याताले परिपूर्ण छ । समावेशी मुद्दा उठाउने र कार्यान्वयन गर्ने पहिलो पार्टी कांग्रेस हो । दलभित्रका आन्तरिक जीवनका विषय पार्टीको औपचारिक मञ्चमा मात्रै राख्नु बुद्धिमानी हुन्छ ।”
पार्टीका केन्द्रीय सदस्य एवं सहरी विकासमन्त्री सीता गुरुङले जनआन्दोलनका उपलब्धिका रूपमा रहेको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्वमार्फत लोकतन्त्र र समृद्धिका लागि गोलबन्द हुन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “सङ्गठन सुदृढीकरण गर्ने क्रममा भेला आयोजना गरिएको छ । मुलुकको जातीय, धार्मिक र सांस्कृतिक विविधताको संरक्षण गर्दै राष्ट्र निर्माणमा सहभागी हुनु आजको आवश्यकता हो ।”
केन्द्रीय सदस्य तारामान गुरुङले पार्टी र सङ्गठनको हितका लागि भेलाबाट प्राप्त हुने सुझाव महत्त्वपूर्ण हुने भएकाले कार्यान्वयनका लागि पार्टी नेतृत्वलाई सुझाव दिनुभयो । अर्का केन्द्रीय सदस्य राधा घलेले राष्ट्रियता, समावेशी लोकतन्त्र र समाजवाद मुख्य आदर्श बोकेको कांग्रेसले समावेशी चरित्रलाई बलियो तुल्याउँदै नेता तथा कार्यकतालाई न्यायोचित जिम्मेवारी र मूल्याङ्कन गर्ने परिपाटीको विकास गर्न सुझाव दिनुभयो ।
नेपाल लोकतान्त्रिक आदिवासी जानजाति महासङ्घका अध्यक्ष ओमबहादुर घर्ती र सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले विगतमा मुलुकमा व्याप्त अन्याय, अत्यचार र राजनीतिक परिवर्तनका लागि आदिवासी जनजाति समुदायको ठूलो योगदान रहेकाले समानुपातिक समावेशी सिद्धान्त कार्यान्वयन गर्दै सोहीअनुरुपको जिम्मेवारी दिइनुपर्ने विचार प्रकट गर्नुभयो ।